Monday, January 29, 2018

जनसेवामा शैक्षिक र छात्रवासको भवन शिलान्यास

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले जनसेवा मावि पाँगाको भवन शिलान्यास गर्दै सफलताको शुभकामना दिए ।
शिलान्यास शुभकामना मन्तव्यमा उनले नेवारी उखान भन्दै आफूले गजुर राख्न आएको बताउदै कीर्तिपुरनगरपालिकाका विभिन्न वडाका वडाध्यहरुसमेत उपस्थित कार्यक्रममा सफलताको शुभकामना दिन पाउँदा खुशी भएको बताए ।
त्यसैगरी सिएलपिआइयुका प्रमुख गणेश ढकालले पनि कामको सफलता सवैको प्रयासबाट हुने विस्वास गरे । उनले शैक्षिक संस्थाको भवन निर्माणमा सवैले सक्दो सहयोग गर्नुपर्ने विचार समेत व्यक्त गरे ।
जनसेवा माविका अध्यक्ष माधवलाल महर्जनले उपस्थित सम्पूर्ण स्थानीय जनता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, महिलासमूह, शिक्षक विद्यार्थी, युवाहरुलाई धन्यवाद ज्ञापन गर्दै जनसेवा २००४ सालमा स्थापना भएको ऐतिहासिक विद्यालय भएको बताए ।
ऐतिहासिक विद्यालय भएकै कारण धेरै भन्दा 
धेरै स्थानीय व्यक्तित्वहरुको योगदान रहिसकेको भन्दै उनले भवन शिलान्यासमा उल्लासमय उपस्थिति जनाएकोमा सवैप्रति खुशीका साथ आभार प्रकट गरे ।
शिलान्यास कार्यक्रममा प्राचार्य नन्दकुमारी महर्जनले समेत पूजामा सहभागिता जनाएका थिए । उनले गुभाजु  बज्राचार्यको विधिवतपूजापछि सहभागी सवैलाई टिकासहित कोखा प्रदान गर्दै सम्मान गरेका थिए । अब जनसेवा माविमा  भुकम्प प्रतिरोधी भवनसहित कक्षाकोठा र छात्रवास हुनेछ । साथै यसलगतै ८ कोठे रेट्रोफिटिङ कार्य पनि भैहाल्ने विद्यालयले जानकारी दिएको छ ।
निर्माण कार्यको जिम्मेवारी भ्याली कन्स्ट्रक्सनले लिएको छ भने आर्थिक लगानी नेपाल सरकार र वैदेशिक ऋण सहयोगबाट हुने बताइएको छ ।
चोभारमा रत्नन्यास पूजा सम्पन्न

कीर्तिपुर । काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नं. १० का प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले मञ्जुश्रीको प्रतिमा स्थापनाका लागि रत्नन्यास पूजा कार्यक्रममा सहभागी भई सम्पन्न यही माघ ८ गते चोभार सहित कीर्तिपुरको सम्वृद्धिको यात्राका लागि मञ्जुश्री प्रतिमा एक कोशेढुङ्गा सावित हुने बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री के.सी.ले राजनीतिक विभेदका मुद्दा अब समाप्त भई सकेको हुँदा सवै जनप्रतिनिधीहरु अब सम्वृद्धिको यात्रामा लाग्नु पर्ने कुरामा जोड दिए । साथै उनले प्रतिमा निर्माण कार्यका लागि केन्द्रिय सरकार तथा आफ्नो सांसद विकास कोषवाट समेत यथासक्य सहयोगको लागि प्रतिवद्धता जनाए । साथै सुख्खा बन्दरगाह, वाहिरी चक्रपथ, जारी मञ्जुश्री प्रतिमा निर्माणसहितका स्थानीय गतिविधिले यस क्षेत्रलाई चाँडै एउटा धार्मिक, ऐतिहासिक एवं पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने विश्वस्त गराए ।
जलविनायक सामुदायिक वन उपभोक्ता समूहवाट जारी ३३ फिटको मञ्जुश्रीको प्रस्तर प्रतिमा निर्माण योजना अन्तर्गत रत्नन्यास कार्यक्रम सम्पन्न भएको
हो । समूहका अध्यक्ष इन्द्रवहादुर महर्जनको अध्यक्षतामा कीर्तिपुर नगरपालिका वडा नं. ६, चोभार स्थित प्रतिमा निर्माण स्थलमा सो दिन भएको उक्त कार्यक्रममा प्रतिमा निर्माणमा हालसम्म भएको आय व्यय एवं निर्माण सम्वन्धी प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
 कार्यक्रममा विशिष्ट अतिथी महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम वहादुर थापाले कार्यक्रमको गरिमा धेरै उच्च रहेको र जारी योजना सम्पन्न गर्न आफ्नो तर्फवाट ४ लाख रुपैयाँको सहयोगसहित थप सहयोगको प्रतिबद्धता जनाएका थिए ।
प्रतिमा निर्माणका लागि विशेष सहयोग गर्ने विश्व शान्तीका अभियन्ता, युरेशिया रेयुकाईका संस्थापक अध्यक्ष याशुन मासुनागाले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा ज्ञानको अपार भण्डार वोधिसत्व मञ्जुश्रीको ज्ञान मार्फत चोभार मात्र हैन समग्र नेपाल मात्र हैन सम्पूर्ण विश्वलाई डोर्याउने थलोका रुपमा विकास होस् भन्ने कामना गरे भने प्रतिमा निर्माणका लागि थप सहयोगको समेत प्रतिवद्धता व्यक्त गरे । साथै मासुनागालाई ८४ वर्ष नाघेको अवसरमा नेवारी परम्परा अनुसार सगुन दिई सम्मान गरिएको थियो भने कदरपत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । गुठी संस्थानका पूर्व अध्यक्ष तथा प्रशासक पञ्चलाल महर्जनले स्थानीय स्तरमा राजनैतिक आस्थाका आधारमा नभई स्थानीय विकासको लागि सवै एक जुट भई अगाडि वढेमा चोभार क्षेत्र दु्रत गतिमा नमूना विकासका थप परियोजनाहरु अगाडि वढाउन सकिने
धारणा राखे । उनले केन्द्रीय तथा स्थानीय सरकारले चोभार क्षेत्रको विकास र मञ्जुश्री लगायतका जारी योजनाहरु सम्पन्न गर्न आवश्यक न्युनतम पनि सहयोग पुर्याउन नसेकेको तथ्य स्पष्ट पारे । यसका लागि आवश्यक नेतृत्वदायी भूमिका निर्वाह गर्न कार्यक्रमका प्रमुख अतिथि एवं युवा तथा खेलकुद मन्त्रीलाई अपील पनि गरे । कार्यक्रममा वौद्ध विद्वान तथा गुरुहरुवाट धार्मिक विधि अनुसार रत्नन्यास पूजा गरिएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघ, एशिया प्याशिफिक क्षेत्रिय कमिटीका अध्यक्ष किरण विक्रम थापा, प्रा.डा. गोपाल शिवाकोटी (चिन्तन) ले एक एक लाख तथा चोभार सुलक्षण कीर्ति विहारका अध्यक्ष डा. अनोजा गुरुमाले प्रतिमा निर्माणका लागि थप १० हजारको आर्थिक सहयोगको प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा समूहका कोषाध्यक्ष एवं मञ्जुश्री प्रतिमा निर्माण समितिका संयोजक सुजिन्द्र महर्जनले प्रतिमा निर्माणका लागि हाल सम्म लागेको खर्च जम्मा करीव १ करोड पचास लाख  तथा सहयोग संकलन अर्थात आम्दानी करीव ७० लाख रहेको विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिमाको वरपर वाहेक प्रतिमा निर्माणका लागि मात्र अझ एक करोड लाग्ने अनुमान निर्माण संयोजक महर्जनले बताए । संस्थाका उपाध्यक्ष दिपक महर्जलने स्वागत तथा कार्य समिति सदस्य अम्कन कर्माचार्यले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रम सचिव सुनिता (शुभलक्ष्मी) शाक्यले संचालन गरेकी हुन् ।

Read the full issue at:
https://drive.google.com/open?id=1mOw9-kF895hzSdVp2aHk9yyI2VWYmMFS

Leave us a comment